प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को ३८औँ वार्षिकोत्सवका अवसरमा पोखरा प्राबिधिक शिक्षालयले विविध कार्यक्रम गरी दिवस मनाएको छ। दिवसका अवसरमा शिक्षालयले एकातर्फ सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गर्‍यो भने अर्कोतर्फ प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

दिवसको अवसरमा विद्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। साथै विद्यालय हाताभित्र वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा प्रमुख, उपप्रमुख, ट्रेड प्रमुख, प्राविधिक तथा प्रशासनिक कर्मचारी, विद्यार्थी र प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। अतिरिक्त क्रियाकलाप इकाइको संयोजनमा सम्पन्न उक्त कार्यक्रमले स्वच्छ वातावरण, हरित विद्यालय र सामाजिक उत्तरदायित्वप्रतिको संस्थाको प्रतिबद्धता झल्काएको बताइएको छ।

यसै अवसरमा प्राविधिक तथा व्यावसायिक शिक्षाप्रति विद्यार्थीहरूलाई अभिमुख गराउने उद्देश्यले पोखरा प्राबिधिक शिक्षालयले श्री शितालादेवी सामुदायिक बिद्यालय, शीतलादेवी, पोखराको कक्षा ९ का १०८ जना विद्यार्थीहरूबीच TVET सचेतना कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा शीतलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी, सूचना अधिकारी रामचन्द्र अधिकारी, शिक्षकहरू सुनिल आचार्य, विष्णु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा पोखरा प्राबिधिक शिक्षालयका उपप्रमुख शैलेन्द्र शाहीले अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे। उनले बदलिँदो विश्व परिवेशमा सीपमूलक शिक्षाको महत्व झन् बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई समयमै उचित शैक्षिक तथा व्यावसायिक मार्ग छनोट गर्न आग्रह गरे।

त्यस अवसरमा प्रशिक्षक नारायण प्रसाद सापकोटा र जनक श्रेष्ठले टिभेट (TVET) सम्बन्धी आवश्यक जानकारी प्रस्तुत गरेका थिए। प्रस्तुतिमा प्राविधिक तथा व्यावसायिक शिक्षाको 'के, किन, कसरी र कहाँ' भन्ने पक्षहरू स्पष्ट पारिँदै विशेषगरी पर्यटन र हस्पिटालिटी शिक्षाको सम्भावना, अध्ययन प्रक्रिया र रोजगारीका अवसरबारे विस्तृत जानकारी दिइएको थियो।

शिक्षालय प्रमुख राजिब कुमार ठाकुरले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सीपप्रति सकारात्मक सोच विकास गर्न, आत्मनिर्भर बन्न प्रेरित गर्न तथा श्रमको सम्मान गर्ने संस्कार अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइए बताए । ३८औँ CTEVT दिवसका अवसरमा सम्पन्न यी कार्यक्रमहरूले प्राविधिक शिक्षाको प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्व र वातावरणीय सचेतनालाई समेत सुदृढ बनाएको विद्यालयले जनाएको छ।