मितिः २०८२-११-१५ शुक्रवार, पोखरा

पोखरा प्राबिधिक शिक्षालयमा एक भव्य समारोहका बीच स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका तेस्रो र पाचौं सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा डिप्लोमा तथा प्रि-डिप्लोमा तहका नवप्रबेशि विद्यार्थीहरु तथा हालसालै सेवा प्रवेश गर्नुभएका प्रशिक्षकहरुलाई स्वागत गर्नुका साथै डिप्लोमा तहका नवौँ ब्याचका विद्यार्थीहरूलाई सम्मानपूर्वक बिदाइ गरिएको थियो ।

शिक्षालयका प्रमुख राजिब कुमार ठाकुरको अध्यक्षतामा तथा प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद (सिटिईभीटि) गण्डकी प्रदेश निर्देशक शारदा देवी घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा होटेल एसोसिएशन नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, शिक्षालयका उपप्रचार्य शैलेन्द्र शाही, सिटिईभीटि गण्डकी प्रदेशका लेखा प्रमुख बद्रि अधिकारी , ट्रेड प्रमुख सबिन बानिया लगायत शिक्षालयका प्राबिधिक तथा प्रशासनिक कर्मचारीहरु र सम्पूर्ण बिद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन डीएचएम पाँचौँ सेमेस्टरकी आरुशी केसी र सुलभ थापा तथा डीएचएम तेस्रो सेमेस्टरकी सालिना तिवारी र लोकेश गुरुङले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा उप-प्राचार्य शैलेन्द्र शाहीले स्वागत मन्तव्य राख्दै विद्यालय परिवारमा नयाँ सदस्यहरू थपिनु संस्थाका लागि ऊर्जा र उत्साहको विषय भएको बताउनुभयो। त्यस्तै, डीएचएम तेस्रो सेमेस्टरका विद्यार्थी बिनम गुरुङले विद्यार्थीहरूको तर्फबाट स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो अवसरमा होटल व्यवस्थापन प्रशिक्षक प्रतिक गुरुङ, कम्प्युटर सहायक प्रशिक्षक आकृति पनेरु, अटोमोबाइल प्रशिक्षक विजय अधिकारी, लसाता महर्जन तथा सुशिला सुवेदीलाई औपचारिक रूपमा स्वागत गरिएको थियो। साथै डीएचएम, प्रि-डीएचएम तथा प्रि-डीएचएम (अप्रेन्टिससिप) कार्यक्रममा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको थियो।

वार्षिक खेलकुद प्रतियोगिताअन्तर्गत सम्पन्न विभिन्न विधाका विजेताहरूलाई पुरस्कार पनि वितरण गरिएको उक्त कार्यक्रममा बिधार्थी तथा कर्मचारी झन्डै ७५ जना  पुरस्कृत भएका थिए । थियो। विद्यालयले यस वर्षको “स्टुडेन्ट अफ द इयर” उपाधि डीएचएम पाँचौँ सेमेस्टरका कुशल पराजुलीलाई प्रदान गरेको छ। त्यस्तै, दीर्घकालीन तथा उत्कृष्ट सेवाका लागि केशव श्रेष्ठलाई “स्टाफ अफ द इयर” सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा करिब दुई दर्जन सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए। प्रशिक्षक प्रतिक गुरुङ र मनीष थापा लगायत विद्यार्थीहरुका दुइ दर्जन बढी नृत्य र गायनले कार्यक्रममा उल्लास थपेको थियो।

विशेष अतिथि लक्ष्मण सुवेदीले आफ्नो मन्तव्यमा प्राविधिक शिक्षाले देशको पर्यटन तथा आतिथ्य क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै विद्यार्थीहरूलाई सीप, अनुशासन र व्यवहारिक दक्षतामा केन्द्रित हुन सुझाव दिनुभयो। प्रमुख अतिथि शारदा देवी घिमिरेले प्राविधिक तथा व्यावसायिक शिक्षाले युवालाई आत्मनिर्भर बनाउने बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थाले निरन्तर सुधार र नवप्रवर्तनमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा डीएचएम नवौँ ब्याचका विद्यार्थीहरूलाई भावपूर्ण बिदाइ गरिएको थियो। डीएचएम पाँचौँ सेमेस्टरकी सिम्रन ओझाले बिदाइ मन्तव्य राख्दै अग्रज विद्यार्थीहरूको योगदान स्मरण गर्नुभयो भने नवौँ ब्याचका तर्फबाट सुयोग घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्दै विद्यालयसँग बिताएका क्षणहरू जीवनभर स्मरणीय रहने बताउनुभयो।

कार्यक्रमको समापन गर्दै शिक्षालय प्रमुख तथा कर्क्रमका अध्यक्ष राजिव कुमार ठाकुरले विद्यालय परिवारबीचको आपसी सहकार्य, सम्मान र सकारात्मक संस्कृतिले नै संस्थालाई उन्नत बनाउने उल्लेख गर्दै सबै विद्यार्थी र कर्मचारीलाई उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो।

उत्साह, सम्मान र भावनात्मक क्षणहरूले भरिएको उक्त कार्यक्रमले विद्यालयमा आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै नयाँ र पुराना पुस्ताबीचको समन्वयलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।