पोखरा, माघ २८ गते । कारागार कार्यालय कास्की मा रहेका कैदी बन्दीलाई बारिस्ता (कफी मेकर) सम्बन्धी सीप मूलक तालिम प्रदान गर्न थालिएको छ । यहाँ रहेका कैदी बन्दीहरूका लागि ६५ दिनसम्म दुई समूहगरि जम्मा ४० जनालाई बारिस्ता (कफी मेकर)  सम्बन्धी तालिम CTEVT को आंगिक शिक्षालय पोखरा प्राविधिक शिक्षालयले प्रदान गर्न थालेको हो ।

विभिन्न कारणले कैद भुक्तान गरिरहेका व्यक्तिहरूलाई सीप सिकेर आय–आर्जनमा जोड्ने उद्देश्यले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालय कास्कीको समन्वयमा बारिस्ता (कफी मेकर) सँग सम्बन्धी सैद्धान्तिक ज्ञान र प्रयोगात्मक सीप सिकाउन लागिएको पोखरा प्राविधिक शिक्षालयका प्रमुख राजीव कुमार ठाकुरले बताउनुभयो । कैदीबन्दीले कैद भुक्तान गरिसके पश्चात् उनीहरूलाई उद्यमशील बन्न निकै सहज हुने अपेक्षा लिएको उहाँको भनाइ छ । आगामी दिनमा थप यस्तै किसिमको अन्य तालिमका लागि शिक्षालयले पहल गर्ने बताउनुभयो ।

कारागारमा रहेका कैदी बन्दीमा सीप विकास गरेर उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन तालिमले निकै टेवा पुर्याउने जिल्ला प्रसाशन कार्यालयका प्रसाशकिय अधिकृत प्रमोद पौडेलले बताउनुभयो । यहाँ रहेका कैदी बन्दीलाई उद्यमशीलतासँगै सीप मूलक कार्य र श्रमसँग जोड्न थालिएको उहाँले बताउनुभयो । यहाँबाट विभिन्न प्रकारका फर्निचर सामानको उत्पादन र बिक्री वितरणको व्यवस्था मिलाइएको छ । पोखरा प्राविधिक शिक्षालयका उप-प्रमुख शैलेन्द्र शाहीले कैद भुक्तानी गरेर बाहिर निस्के पश्चात् उद्यमशीलतामा लाग्नुका साथै जीवनयापनमा समेत तालिमले सहज हुने बताउनुभयो ।

सीप भए पर निर्भरता हट्छ, सीपलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बन्न सकिने उहाँले बताउनुभयो । यहाँ उत्पादित मुढा, ढाका र फर्निचर आदिबाट राम्रै अर्थीक कारोबार हुने गरेको छ । सुरक्षा निकाय, प्रशासन र आन्तरिक प्रशासनको त्रिकोणात्मक सम्बन्धका कारण कैदीबन्दी तथा थुनुवाहरूलाई कारागार भित्रै सीप अनुसारको उद्यमसँग जोड्न सकिएको कास्की कारागारका प्रमुख राजेन्द्र शर्मले बताउनुभयो ।